नेभिगेशन
सूचना प्रविधि

देशभर करिब एक सय डेरीले ब्रान्डिङ गरी मोही बजारमा ल्याइरहेका छन् : प्रल्हाद दाहाल

काठमाडौं । नेपालमा पछिल्लो समय मोहीको माग उल्लेख्य रूपमा बढ्दै गएको छ। विशेषगरी विवाह, भोज तथा सामाजिक कार्यक्रमहरूमा कोल्ड ड्रिंकजस्ता आयातित पेय पदार्थको सट्टा मोहीको प्रयोग बढ्दै गएको देखिएको छ।

नेपाल डेरी एशोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालका अनुसार देशभर करिब एक सय डेरीले ब्रान्डिङ गरी मोही बजारमा ल्याइरहेका छन्। उनका अनुसार लेबलिङ र प्याकेजिङसहित दैनिक २० देखि २५ हजार लिटर मोही बिक्री भइरहेको छ भने कुल खपत ३० देखि ३५ हजार लिटरसम्म पुगेको छ।

दाहालले मोही पूर्ण रूपमा प्राकृतिक उत्पादन भएको र यसमा रसायनको प्रयोग नगरी उपभोगका लागि तयार पारिने बताए। उनले उत्पादनको आयु बढाउन केही अवस्थामा प्रविधिगत प्रयोग हुन सक्ने भए पनि परम्परागत स्वाद जोगाउने प्रयास भइरहेको उल्लेख गरे।

उनका अनुसार मोही उत्पादनले आन्तरिक अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारेको छ। पछिल्लो समय आयातित पेय पदार्थको खपत करिब २५ प्रतिशतले घटेको तथ्यांकले देखाएको उनले बताए।

दाहालले काठमाडौँसहित विभिन्न सहरमा नयाँ डेरी उद्योगहरूले मोही उत्पादन विस्तार गरिरहेको जानकारी दिए। पछिल्लो समय नवप्रभा डेरी, प्रभात मोही, हिमालयन डेरीको ‘दर्शन मोही’ तथा ग्लोबल डेरी बुटवलजस्ता उत्पादन बजारमा प्रवेश गरेको उनले उल्लेख गरे।

मोही खपत बढाउन चैत २८ गतेलाई मोही दिवसका रूपमा मनाउन थालिएको पनि उनले बताए। स्वस्थ जीवनशैलीका लागि मोही उपयुक्त पेय भएको र सबै उमेर समूहले सेवन गर्न सक्ने उनको भनाइ छ।

तर, मोही उत्पादनका लागि सरकारी सहयोग अझै पर्याप्त नभएको भन्दै उनले नीति तथा कर प्रणालीमा सहजीकरण आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्