नेभिगेशन
कृषि

कृषि नै विकासको प्रमुख आधार हो : मन्त्री मधुसुदन पौडेल

काठमाडौं। बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले स्थानीय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको वास्तविक अर्थ जनताले अनुभूति गर्न नसक्ने बताएका छन्।

‘कृषिमा अन्तरप्रदेश सम्बन्ध र सहकार्य’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको जस्तो देशका लागि कृषि नै विकासको प्रमुख आधार भएको उल्लेख गरे।

उनका अनुसार कृषि आधारित उद्योग र कृषि कर्ममार्फत रोजगारी सिर्जना गर्न सकिने भएकाले यस क्षेत्रमा विशेष ध्यान दिन आवश्यक छ। उनले भने, “स्थानीय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको अर्थ जनताले बुझ्न सक्दैनन्। हाम्रो जस्तो मुलुकका लागि विकासको सबैभन्दा महत्वपूर्ण कुरा रोजगारीसँग जोडिएको कृषि नै हो।”

मन्त्री पौडेलले रासायनिक मलको अभाव अझै समाधान हुन नसकेको भन्दै यसले कृषि उत्पादनमा समस्या सिर्जना गरिरहेको बताए। उनका अनुसार केन्द्र सरकारले मल खरिद र प्रदेश सरकारले वितरण गर्ने व्यवस्था भए पनि बागमती प्रदेशका लागि आवश्यक मात्रामा मल उपलब्ध हुन सकेको छैन।

उनले बागमती प्रदेशलाई वार्षिक करिब १ लाख १३ हजार मेट्रिक टन मल आवश्यक पर्ने जानकारी दिँदै आपूर्तिमा सुधार आवश्यक रहेको बताए।

साथै, उनले रासायनिक मलसँगै जैविक तथा प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै दीगो कृषि विकासका लागि सबै तहका सरकार र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्