नेभिगेशन
स्वास्थ्य

बिस्कुटमा रौं भेटिएपछि उद्योगमाथि कारबाही, २ लाख जरिवाना

काठमाडौं । सुनसरीको दुहबीस्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि.माथि उत्पादन गरेको बिस्कुटमा रौं भेटिएको पुष्टि भएपछि सरकारले २ लाख रुपैयाँ जरिवाना गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार उद्योगद्वारा उत्पादित ‘डाइजेस्टिभ नट्स’ नामक बिस्कुटमा रौं भेटिएको भन्दै परेको उजुरीपछि अनुगमन प्रक्रिया अघि बढाइएको थियो।

उजुरीका आधारमा विभागको विराटनगरस्थित कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त टोलीले उद्योगको उत्पादन स्थलमै पुगेर निरीक्षण गरेको थियो। अनुगमनका क्रममा उक्त ब्रान्डका बिस्कुटका नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो।

प्रयोगशाला परीक्षणबाट कैफियत पुष्टि भएपछि उद्योगलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको विभागले जनाएको छ। ऐनको दफा ३५ को खण्ड ‘ङ’ अन्तर्गतको कसुर देखिएकाले दफा ३९ को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम २ लाख रुपैयाँ जरिवाना गरिएको हो।

विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माद्वारा प्रमाणित विवरणअनुसार उद्योगलाई सात दिनभित्र जरिवाना रकम सरकारी खातामा दाखिला गरी प्रमाण पेश गर्न निर्देशन दिइएको छ।

विभागले उजुरीसँगै प्राप्त बिस्कुटका तस्बिरसमेत सार्वजनिक गर्दै उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न उद्योगमाथि कारबाही गरिएको स्पष्ट पारेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्