नेभिगेशन
पर्यटन

लेकसाइडमा पर्यटक ठगी र हैरानी प्रकरणमा १६ महिला पक्राउ

पोखरा । पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकलाई दुःख हैरानी र लुटपाट गरेको आरोपमा प्रहरीले १६ महिलालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार रातिको समयमा आन्तरिक तथा विदेशी पर्यटकलाई लक्षित गर्दै अनावश्यक हैरानी दिने, ठगी तथा लुटपाट गर्ने गतिविधि बढेको जनगुनासोपछि प्रहरी सक्रिय भएको हो।

सोही आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले वैशाख ५ गते मध्यराति साढे १२ बजेदेखि वैशाख ६ गते बिहान २ बजेसम्म विशेष अभियान सञ्चालन गरेको थियो।

अभियानका क्रममा १६ जना महिलालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए।

प्रहरीले लेकसाइड क्षेत्रमा अनैतिक तथा आपराधिक गतिविधि नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडा बनाइने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्