काठमाडौं । विश्वविद्यालयहरूले अब परीक्षाफल प्रकाशित भएको १५ दिनभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराउने निर्णय गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा गत चैत २० गते सबै विश्वविद्यालयका उपकुलपतिहरूले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन्।
निर्णयअनुसार परीक्षाफल प्रकाशनलाई व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन विश्वविद्यालयहरूको परीक्षा नियन्त्रण कार्यालयमार्फत नतिजा पोर्टल निर्माण गरिनेछ। साथै नतिजा सार्वजनिक भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने व्यवस्था लागू गरिने उल्लेख गरिएको छ।
उच्चशिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डर प्रभावकारी रूपमा कार्यान्वयन गर्न विश्वविद्यालय अनुदान आयोगका सचिवको संयोजकत्वमा समिति गठन गरिने र उक्त समितिले १५ दिनभित्र परिमार्जित क्यालेन्डर पेश गर्ने निर्णय भएको छ।
त्यसैगरी, सेवाग्राहीका गुनासा तथा सुझाव छिटो सम्बोधन गर्न २४ सै घण्टा खुला रहने बहु–च्यानल प्रणाली सञ्चालन गरिनेछ। फोन, मोबाइल एप, पोर्टल तथा सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्न सकिने व्यवस्था मिलाइने जनाइएको छ।
विद्यार्थीले आफ्ना शैक्षिक प्रमाणपत्र मोबाइल एप, नागरिक एप वा इमेलमार्फत डाउनलोड गर्न सक्ने व्यवस्था गर्न पनि विश्वविद्यालयहरूलाई निर्देशन दिइएको छ। यसका लागि आवश्यक डिजिटल प्रणाली १५ दिनभित्र तयार गरी नागरिक एपसँग जोड्ने तयारी गरिएको छ।
