काठमाडौं । नेपाल जेनजी फ्रन्ट ले अनधिकृत संरचना हटाउने क्रममा भइरहेको डोजर प्रयोग र प्रहरी दमनप्रति गम्भीर आपत्ति जनाएको छ। फ्रन्टले राज्यले अवलम्बन गरेको कार्यशैलीलाई ‘क्रुर र बर्बर’ भन्दै तत्काल बन्द गर्न माग गरेको हो।
सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा फ्रन्टले कुनै वैकल्पिक व्यवस्था वा पुनर्स्थापनाको स्पष्ट योजना बिना विपन्न नागरिकको बासस्थान र जीविकोपार्जनमाथि डोजर चलाउनु गैरजिम्मेवार कदम भएको जनाएको छ। दशकौँदेखि साना व्यवसाय गरेर गुजारा गर्दै आएका न्यून आय भएका नागरिकलाई एकाएक विस्थापित गरिनुले राज्यको नियतमाथि प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ।
फ्रन्टले संरचना हटाउनु अघि प्रभावित नागरिकको उचित विकल्प, पुनर्स्थापना र वैज्ञानिक व्यवस्थापन सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ। “घर भत्काइएपछि सिर्जना हुने मानवीय संकटको व्यवस्थापन गर्नु सरकारको प्राथमिक दायित्व हो,” विज्ञप्तिमा भनिएको छ।
संरचना हटाउने क्रममा अपाङ्गता भएका व्यक्ति तथा सर्वसाधारणमाथि भएको कथित अमानवीय व्यवहारप्रति पनि फ्रन्टले आपत्ति जनाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोप्रति ध्यानाकर्षण गराउँदै त्यस्ता कार्यमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न र सुरक्षा संयन्त्रलाई मानवतामूलक व्यवहारसम्बन्धी तालिम दिन माग गरिएको छ।
त्यस्तै, आगामी दिनमा नागरिकमाथि गैरकानुनी दमन नगर्ने लिखित प्रतिबद्धता जनाउन तीनै तहका सरकारसँग आग्रह गरिएको छ। फ्रन्टले पर्याप्त सूचना र समय दिएर मात्र मानवीय संवेदनासहित कानुनी प्रक्रिया अपनाउनुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिको अन्त्यमा सरकारलाई चेतावनी दिँदै फ्रन्टले “नागरिकको पीडा र आँसुमा उभिएको सहर कहिल्यै सुन्दर हुन सक्दैन” भन्दै कार्यशैली सुधार गरी जिम्मेवार बन्न आग्रह गरेको छ।
