काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले विश्वविद्यालय र प्रतिष्ठानहरूमा देखिएका समस्या समाधानका लागि आज उपकुलपतिहरूसँग उच्चस्तरीय छलफल गर्ने भएको छ। बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय गरिएको छ।
प्रधानमन्त्रीले आफू कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि आमन्त्रण गरेका छन्। बैठकमा उच्च शिक्षामा देखिएका समसामयिक चुनौती, व्यवस्थापन समस्या र सुधारका उपायबारे केन्द्रित छलफल हुने जनाइएको छ। तत्काल कार्यान्वयन गर्न सकिने विषयहरू पहिचान गर्दै निर्णयतर्फ अघि बढ्ने तयारी गरिएको छ।
छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय का उपकुलपति सहभागी हुनेछन्। यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय का प्रतिनिधिहरूको पनि उपस्थिति रहनेछ।
त्यस्तै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय का उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले संवाद गर्ने कार्यक्रम छ।
यसका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पनि छलफलमा सहभागी हुने जनाइएको छ।
सरकारले उच्च शिक्षामा गुणस्तर सुधार, प्रशासनिक पारदर्शिता र नीतिगत सुधारका लागि यस छलफललाई महत्त्वपूर्ण कदमका रूपमा लिएको छ।
