काठमाडौं । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६’ आजदेखि सुरु गरेको छ।
सोमबार पत्रकार सम्मेलन गर्दै अभियानले सार्वजनिक शिक्षासम्बन्धी विभिन्न सवालमा सरोकारवालाबीच सचेतना बढाउने तथा नीति निर्माण तहमा वकालत र दबाब सिर्जना गर्ने उद्देश्यका साथ विश्वका १५० भन्दा बढी देशमा एकैसाथ अभियान सुरु भएको जनाएको हो।
आजदेखि १४ गतेसम्म सञ्चालन हुने उक्त अभियान “शिक्षामा पर्याप्त लगानीका लागि अभियानको ज्योति बालिराखौँ” भन्ने मूल नारासहित विभिन्न सचेतनामूलक तथा वकालतमूलक कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
संविधानले आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था गरेको भए पनि त्यसको कार्यान्वयन अपेक्षित रूपमा अघि बढ्न नसकेको अभियानको गुनासो छ। सरकारले कुल राष्ट्रिय बजेटको १५ देखि २० प्रतिशत तथा कुल गार्हस्थ्य उत्पादनको ४ देखि ६ प्रतिशत शिक्षामा लगानी गर्ने प्रतिबद्धता जनाएको भए पनि व्यवहारमा सो अनुसार प्रगति हुन नसकेको बताइएको छ।
अभियानले संघीय, प्रादेशिक र स्थानीय सरकारलाई सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि लगानी वृद्धि गर्न र त्यसको प्रभावकारी कार्यान्वयनतर्फ अग्रसर हुन आग्रह गरेको छ।
अभियानअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछन्। वैशाख ७ गते पत्रकार सम्मेलन, वैशाख ८ गते नागरिक भेला तथा प्रदर्शनी, र वैशाख ११ गते प्रतिनिधिसभा सदस्य, राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय तथा सम्बन्धित निकायसँग अन्तरक्रिया कार्यक्रम हुने जनाइएको छ।
त्यसैगरी, अभियान अवधिभर विभिन्न एफएम रेडियोमार्फत सार्वजनिक सेवा सन्देश प्रसारण, सामाजिक सञ्जालमार्फत सचेतनामूलक सामग्री प्रकाशन तथा शिक्षा सम्बन्धी विविध जनचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ।
