काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले आज मस्यौदा पारित गर्ने तयारी गरेको छ। समितिका सभापति गणेश पराजुलीका अनुसार महाभियोग लगायत केही बाँकी विषयमा आज छलफल गरी टुंगो लगाइनेछ।
समितिका अधिकांश विषयमा सहमति जुटिसकेको र १४ दिने समयसीमा पनि आज सकिने भएकाले मस्यौदालाई अन्तिम रूप दिने तयारी गरिएको हो। समितिका सदस्यहरूका अनुसार नियमावली आजै पारित गर्ने सम्भावना उच्च छ।
नियमावलीमा संसदीय अभ्यास, २०१६ सालयताका अनुभव तथा बदलिँदो राजनीतिक व्यवस्थालाई समेट्ने प्रावधान राखिएको छ। यसले आगामी पाँच वर्ष प्रतिनिधिसभा सञ्चालनलाई व्यवस्थित बनाउने, कानुन निर्माण प्रक्रिया प्रभावकारी बनाउने, सांसदहरूको भूमिका सुदृढ गर्ने र कार्यपालिकालाई जवाफदेही बनाउने लक्ष्य लिएको छ।
समितिले यसअघि सभामुख तथा पूर्वमहासचिवहरूसँग सुझाव लिइसकेको छ। साथै सरोकारवालासँग औपचारिक तथा अनौपचारिक छलफल समेत गरिएको थियो।
समितिका अनुसार मस्यौदा प्रचलित कानुन, अदालतका फैसला र यसअघि प्रतिनिधिसभाले निर्माण गरेका कानुनी प्रावधानभन्दा बाहिर नजाने गरी तयार गरिएको छ।
