काठमाडौं । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने अग्रणी चिकित्सक दिनेश नाथ गंगोल को ९२ वर्षको उमेरमा निधन भएको छ। उहाँको मंगलबार बिहान काठमाडौंस्थित निवासमै निधन भएको हो।
उहाँको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको स्वास्थ्य क्षेत्रका जानकारहरूले बताएका छन्। आजै दाहसंस्कार गर्ने तयारी गरिएको परिवारले जनाएको छ।
डा. गंगोलले नेपालमा जटिल शल्यक्रियाको सुरुवात गर्दै चिकित्सा इतिहासमा महत्वपूर्ण योगदान दिनुभएको थियो। उहाँले न्युरोसर्जरीसँगै पिट्युटरी ट्युमरको शल्यक्रिया, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल अप्रेसनहरू नेपालमै पहिलोपटक सफलतापूर्वक गर्नुभएको थियो।
उहाँको योगदानले नेपालमा आधुनिक शल्यचिकित्साको आधार निर्माण गरेको मानिन्छ। चिकित्सा क्षेत्रमा उहाँको योगदानलाई सधैं स्मरण गरिनेछ।
