काठमाडौं, ११ बैशाख — नेपाल प्रहरीले सिन्धुली जिल्लामा हिरासतभित्र युवकको मृत्यु भएको घटनाबारे छानबिन गर्न विशेष समिति गठन गरेको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालबाट जारी पत्रअनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका–३ का २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणको अनुसन्धान गर्न समिति बनाइएको हो ।
श्रीकृष्ण विकलाई जबर्जस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखिएको थियो । वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटका हिरासत कक्षको शौचालयमा उनले लगाएको सटको सहायताले झुन्डिएको अवस्थामा फेला परेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनाको यथार्थ तथा वस्तुनिष्ठ छानबिन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका प्रहरी नायव महानिरीषक दिनेश कुमार आचार्यको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको छ। समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

समितिमा केन्द्रीय अनुसन्धान ब्युरो तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरू सदस्यका रूपमा रहेका छन्। समितिको सदस्यहरुमा प्रहरी उपरिक्षकहरु रबिन्द्र नाथ पौडेल, ईन्द्रजित सुनार, प्रेम रेग्मी र प्रहरी नायव निरिक्षक राजेश्वर सापकोटा रहेका छन् ।
यस घटनाले हिरासत सुरक्षाको अवस्था र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएको छ भने निष्पक्ष छानबिनको माग समेत बढ्दै गएको छ । समिति गठन भएसँगै मृतक युवकको शव पोष्टम्याटमको प्रक्रिया अगाडी बढाउने सहमती भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन सांसदहरु र मृतकका परिवारहरुको माग अनुसार शवको पोष्टम्याटम काठमाडौँको टिचिङ हस्पिटलमा गरिने भएको छ ।
पोष्टम्याटमको लागि शव काठमाडौँ पठाईएको सिन्धुली –२ बाट निर्वाचित सांसद आसिस गजुरेलले जानकारी दिनुभयो ।







