काठमाडौं, ११ बैशाख — प्रहरी हिरासतमा मृत्यु भएका सिन्धुलीको सुनकोशी गाउँपालिका–३ का २३ वर्षीय श्रीकृष्ण विकको शव पोस्टमार्टमका लागि काठमाडौँको टिचिङ्ग हस्पिटल पठाईएको छ ।
घटनाको निष्पक्ष छानविनको लागि प्रहरी नायव महानिरीक्षकको नेतृत्वमा समिति गठन भए पछि मृतकका परिवारले शव पोस्टमार्टमको प्रक्रिया अगाडी बढाउन सहमत भएका हुन् । शवको पोस्टमार्टमको लागि काठमाडौँ पठाईएको सिन्धुली – २ बाट निर्वाचित सांसद आसिस गजुरेलले जानकारी दिनुभयो ।
छानविन समितिले पोस्टमार्टम रिर्पोट लगाएत घटनासँग सम्बन्धित बिषयहरुको छानविन गरी सत्य, तथ्य पत्ता लगाई पिडित पक्षलाई न्याय दिने सांसद गजुरेलले बताउनुभयो । मृतक विकलाई जबर्जस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखिएको थियो ।
वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटका हिरासत कक्षको शौचालयमा उनले लगाएको सटको सहायताले झुन्डिएको अवस्थामा फेला परेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी हिरासतमै युवकको मृत्यु हुनु शंकास्पद भएको भन्दै मृतकका आफन्तले घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारवाही हुनुपर्ने माग गर्दै विगत चार दिन देखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना दिएका थिए ।
बिहीवार साँझ देखि शुक्रवार दिउँसो सम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्मा, आसिस गजुरेल लगाएतका सांसदहरु र मृतक युवकका आफन्तहरुले प्रशासन कार्यालय अगाडी घटनाको छानविनको लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने माग राख्दै धर्ना बस्नुभएको थियो ।
मृतकका परिवारहरुसँगै सांसदहरु पनि धर्नामा बसे पछि नेपाल प्रहरी प्रधान कार्यालयले युवकको मृत्यु भएको घटनाबारे छानबिन गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका प्रहरी नायव महानिरीषक दिनेश कुमार आचार्यको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा प्रहरी उपरिक्षकहरु रबिन्द्र नाथ पौडेल, ईन्द्रजित सुनार, प्रेम रेग्मी र प्रहरी नायव निरिक्षक राजेश्वर सापकोटा रहेका छन् । समितिलाई उक्त घटनाको यथार्थ तथा वस्तुनिष्ठ छानबिन गरी प्रतिवेदन पेश गर्न ७ दिनको म्याद दिईएको छ ।
मृतकका परिवारले घटनाको न्यायीक छानबिन गरि दोषीलाई कार्वाही गर्न माग गरेका छन् । धर्नामा बस्नुभएका सांसदहरुले सिन्धुलीका सिडिओ स्किम श्रेष्ठ, एसपी लालध्वज सुवेदी खुर्कोट ईलाका इन्स्पेक्टर, डिउटी कमाण्डरहरुको लापरवाहीले प्रहरी हिरासतमै युवकको मृत्यु भएको भन्दै तत्काल निलम्बन गरी छानविन गर्नुपर्ने माग गर्नुभएको थियो ।







