नेभिगेशन
समाचार

वर्षाले डाइभर्सन बगायो, बीपी राजमार्ग पूर्ण अवरुद्ध — सयौं सवारी प्रभावित

१३ वैशाख, काभ्रेपलाञ्चोक । शनिबार परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बग्दा बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। शनिबार दिउँसो करिब चार बजेदेखि बन्द भएको राजमार्ग तत्काल खुल्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार सडक खुलाउन अझै समय लाग्नेछ र सम्भवतः आइतबार साँझसम्म पनि सञ्चालनमा ल्याउन कठिन हुन सक्छ।

प्रहरीका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, ठुलोढुंगा र माम्ती क्षेत्रमा रहेका डाइभर्सन बगाएको छ। यसैगरी नेपालथोक र सिन्धुलीतर्फ आँपघारी क्षेत्रमा पनि डाइभर्सन क्षतिग्रस्त भएका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोट क्षेत्रमा सयौं सवारी साधन रोकिएका थिए। आइतबार बिहानदेखि केही स्थानमा रोकिएका सवारी साधनलाई सुरक्षित स्थानतर्फ सारिएको छ।

मंगलटार क्षेत्रमा रोकिएका यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गराई पठाउने काम भइरहेको छ। यात्रु बोकेर आएका सवारी साधनलाई मंगलटारमै रोकेर यात्रुहरूलाई रोशी खोला पारि पैदल पठाइ त्यहाँबाट अर्को सवारी साधनमार्फत तेमालको कालधार–नारायणस्थान–भकुण्डे हुँदै धुलिखेलतर्फ पठाइएको प्रहरीले जनाएको छ।

मौसममा सुधार आएर सडक सुरक्षित भएको पुष्टि भएपछि मात्रै सवारी साधन सञ्चालन गरिने प्रहरीले स्पष्ट पारेको छ। यसबारे थप जानकारीका लागि नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

बीपी राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वी पहाड तथा तराईतर्फ जाने र राजधानी भित्रिने सयौं सवारी साधन प्रभावित भएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्