नेभिगेशन
समाचार

घ्याङलेख गाउँपालिकाको प्रत्येक वडामा एकीकृत घुम्ती शिविर सञ्चालन 

सिन्धुली, २४ बैशाख । सिन्धुलीको घ्याङलेख गाउँपालिकाले नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन भइरहेको छ ।

गाउँपालिकाको आयोजनामा सञ्चालित उक्त शिविरमार्फत वडाबाट विभिन्न प्रकारका सार्वजनिक सेवाहरू एकै स्थानबाट प्रदान गरिएको हो । गएको बैशाख २१ गते सोमवार वडा नम्बर ५ बाट शिविर सुरु भएको थियो ।

मंगलवार वडा नम्बर ४, बुधवार वडा नम्बर ३ र बिहीवार वडा नम्बर २ मा शिविर सम्पन्न भएको छ । ४ ओटा वडामा सम्पन्न भएको शिविरबाट झन्डै २ हजार बढी नागरिकहरुले सेवा लिएका छन् । भोली शुक्रवार वडा नम्बर १ मा शिविर संचालन हुनेछ ।

शिविरमा स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण, कृषि तथा पशुपन्छीसम्बन्धी सेवा, आयुर्वेदिक सेवा, ज्येष्ठ नागरिक परिचयपत्र वितरण लगायतका सेवा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी, विभिन्न प्रशासनिक सेवाहरू, योजनासँग सम्बन्धित सेवा, राजस्व तथा व्यवसाय दर्ता सम्बन्धी सेवा र सामाजिक सुरक्षासम्बन्धी बायोमेट्रिक सेवा पनि शिविरबाटै प्रदान गरिएको थियो ।

गाउँपालिकाको सेवा प्रवाहका बिषयमा नागरिक र जनप्रतिनिधि, कर्मचारी लगाएत सरोकारवालाहरु बिचको सवाल जवाफ सहित सार्वजनिक सुनुवाई कार्यक्रम पनि आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार दुर्गम क्षेत्रका नागरिकलाई सेवा लिन सहज बनाउने उद्देश्यले यस्तो शिविर सञ्चालन गरिएको हो । स्थानीयवासीले पनि शिविरमार्फत घर नजिकै सेवा पाउँदा निकै लाभान्वित भएको प्रतिक्रिया दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्