नेभिगेशन
समाचार

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंक को डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

दुई पद रिक्त रहेकामा एक पदमा पण्डितलाई नियुक्त गरिएको हो। यसअघि २५ फागुनमा तत्कालीन डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्र ले पाँच वर्षे कार्यकाल पूरा गरी पदमुक्त भएका थिए।

२०६२ सालमा राष्ट्र बैंक प्रवेश गरेका पण्डित व्यवस्थापन क्षेत्रमा अब्बल कर्मचारीका रूपमा चिनिन्छन्। त्रिभुवन विश्वविद्यालय बाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनी सोही संकायका ‘गोल्ड मेडलिस्ट’ हुन्।

२०३६ कात्तिक १ मा जन्मिएका पण्डितले अधिकृत तेस्रो तहबाट सेवा सुरु गरी छोटो अवधिमै विभिन्न प्रतिस्पर्धात्मक बढुवा पार गर्दै निर्देशक हुँदै २०८१ फागुन १ मा कार्यकारी निर्देशक बनेका थिए। कार्यकारी निर्देशक बनेको करिब दुई वर्षमै उनी डेपुटी गभर्नरमा नियुक्त भएका हुन्।

राष्ट्र बैंकमा उनले मानव संशोधन, नियमन, बैंक सुपरीवेक्षण, मुद्रा व्यवस्थापन, विदेशी विनिमय तथा भुक्तानी प्रणाली जस्ता महत्त्वपूर्ण विभागमा काम गरिसकेका छन्। साथै धनगढी र वीरगञ्ज कार्यालय तथा वित्तीय समावेशीता तथा ग्राहक संरक्षण महाशाखाको नेतृत्व पनि सम्हालेका थिए।

नियमन विभागमा रहँदा चालुपुँजी कर्जा मार्गदर्शन नीति निर्माण र कार्यान्वयनमा उनको महत्वपूर्ण भूमिका रहेको थियो। उनी राष्ट्र बैंकको प्रवक्ताका रूपमा पनि कार्यरत रहिसकेका छन्।

हाल गभर्नर डा. विश्वनाथ पौडेल अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुन अमेरिका जाने तयारीमा रहेकाले कार्य सञ्चालनमा निरन्तरता दिन सरकारले यो नियुक्ति गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्