ताप्लेजुङ — जिल्ला अस्पताल ताप्लेजुङमा एक वर्षमा करिब चार सय जनाको शल्यक्रिया गरिएको छ । यस अवधिमा उपचारका लागि आएका व्यक्तिको सामान्यदेखि जटिल शल्यक्रिया गरिएको छ ।
पहिले गर्भवतीको मात्र शल्यक्रिया हुँदै आएको थियो । २०८१ फागुनमा सर्जन चिकित्सक प्रनाम जयरु आएदेखि जटिल प्रकारका शल्यक्रिया गर्न थालिएको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पतालका अनुसार एक वर्षमा ३ सय ९३ जनाको शल्यक्रिया गरिएको छ । जसमा मेजर १ सय ६५, मध्यमखालका १ सय १८ र सामान्य १ सय १० जनाको शल्यक्रिया भएको छ ।
मेजर अपरेसनमा एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, मल्टिपल इन्जुरीलगायत हुन्छन् । यसअघि यस्ता शल्यक्रिया गर्न यहाँबाट झापा, मोरङ, सुनसरीलगायत तराईका जिल्ला जानुपर्ने बाध्यता थियो ।
कतिपय सरसापट गरेर भए पनि संघीय राजधानी काठमाडौं पुग्ने गरेका थिए । अस्पतालमा मेजर अपरेसनका लागि बिरामीको अवस्था हेरी १० हजार देखि २० हजार रुपैयाँसम्म खर्च लाग्छ ।
यीबाहेक आर्थिक अवस्था सामान्य भएका, तत्काल शल्यक्रिया गर्नैपर्ने तर शुल्क तिर्न नसक्ने २० जनाको पनि निस्शुल्क शल्यक्रिया गरिएको अस्पतालका प्रमुख चिकित्सक जयरुले जानकारी दिए । उनका अनुसार निस्शुल्क शल्यक्रिया गरिएका व्यक्तिको संख्या ३ सय ९३ भन्दा बाहिरको हो ।
