काठमाडौं । गभर्नर बन्ने दौडबाट बाहिरिएका डा. गुणाकर भट्ट अब नीति निर्माण तहमा प्रवेश गरेका छन्। सरकारले उनलाई राष्ट्रिय योजना आयोग को उपाध्यक्षमा नियुक्त गरेको हो।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले भट्टलाई उक्त जिम्मेवारी दिएको हो। यसअघि नेपाल राष्ट्र बैंक का कार्यकारी निर्देशक रहेका भट्ट गभर्नर बन्ने चर्चामा रहे पनि अन्ततः उक्त पदमा डा. विश्वनाथ पौडेल नियुक्त भएका थिए।
नयाँ जिम्मेवारी पाएपछि भट्टले सरकारको प्राथमिकतामा रहेका कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने बताएका छन्। उनले १६औँ योजनाका लक्ष्य प्राप्ति, आर्थिक सूचक सुदृढीकरण र सुशासन प्रवर्द्धनमा केन्द्रित भएर काम गर्ने उल्लेख गरेका छन्।
२०५७ सालमा राष्ट्र बैंक प्रवेश गरेका भट्टले आर्थिक अनुसन्धान, बैंक सुपरिवेक्षण, नियमन, भुक्तानी प्रणाली र मौद्रिक व्यवस्थापनजस्ता क्षेत्रमा लामो अनुभव हासिल गरेका छन्।
अर्थशास्त्रमा विद्यावारिधि (PhD) गरेका भट्टलाई मौद्रिक तथा वित्तीय क्षेत्रका अनुभवी विज्ञका रूपमा लिइन्छ।







