नेभिगेशन
समाचार

विस्थापित कोशी प्रदेशसभा : १५ बैठकपछि आमसञ्चार विधेयक सर्वसम्मत पारित

विराटनगर । जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनी भएपछि विस्थापित अवस्थामा सञ्चालन हुँदै आएको कोशी प्रदेशसभा को हिउँदे अधिवेशन सोमबार राति १२ बजे अन्त्य भएको छ। करिब दुई महिनासम्म सञ्चालन भएको अधिवेशनमा जम्मा १५ वटा बैठक मात्र बसेका थिए।

अधिवेशनको अन्तिम दिन ‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत रूपमा पारित गरिएको छ। विधेयकले स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिने व्यवस्था गरेको छ। अब प्रदेशभित्रका स्थानीय तहहरूले सूचना तथा विज्ञापन प्रदेशकै मिडियामार्फत प्रकाशन तथा प्रसारण गर्नुपर्ने प्रावधान समावेश गरिएको छ।

त्यसैगरी ‘आमसञ्चार प्रतिष्ठान’ गठन गरी पत्रकारका लागि तालिम, क्षमता विकास तथा विज्ञापन वितरण व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ। बोर्डमा कम्तीमा तीन जना महिला अनिवार्य रहने, पत्रकारका लागि छात्रवृत्ति र तालिमको व्यवस्था गर्ने प्रावधान पनि विधेयकमा समावेश छ।

दण्ड–जरिबाना घटाएर ५ हजारदेखि २० हजार रुपैयाँसम्म कायम गरिएको छ भने कारबाहीअघि चेतावनी दिने व्यवस्था थपिएको छ। विधेयकले प्रेस काउन्सिल नेपाल को आचारसंहितालाई आधार मानेर कार्यान्वयन गर्ने र संविधानको सीमाभित्र रहेर मात्र समाचार नियमन गर्ने उल्लेख गरेको छ।

जेनजी आन्दोलनका क्रममा भवन क्षतिग्रस्त भएपछि प्रदेशसभा सचिवालय हाल विराटनगरस्थित विरेन्द्र सभागृह बाट बैठक सञ्चालन गर्दै आएको छ। सो सभागृह भाडामा लिएर सञ्चालन गर्दा मासिक ८ लाख रुपैयाँ भाडा तिर्नुपर्ने सम्झौता गरिएको छ, जुन आगामी साउनसम्म कायम रहनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्