नेभिगेशन
समाचार

२४ घण्टामै लाइसेन्स छपाइ, देशभर ‘सरकारी कुरियर’ सेवा विस्तार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले नागरिकलाई छरितो र प्रविधिमैत्री सेवा प्रदान गर्न १० बुँदे डिजिटल सुधार कार्ययोजना लागू गरेको छ।

नयाँ व्यवस्थाअनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएका सेवाग्राहीको विवरण प्राप्त भएको २४ घण्टाभित्रै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिनेछ। बाँकी करिब २९ लाख लाइसेन्स २०८३ असार मसान्तभित्र छापिसक्ने लक्ष्य राखिएको छ।

सरकारी सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यसहित हुलाक सेवालाई ‘सरकारी कुरियर’का रूपमा विस्तार गरिनेछ। आगामी २०८३ वैशाख मसान्तसम्म ७७ वटै जिल्लामा राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्र र सिमकार्ड वितरण हुलाकमार्फत गर्ने योजना छ।

डिजिटल सेवा विस्तारअन्तर्गत ‘नागरिक एप’मार्फत प्रहरी प्रतिवेदन, राहदानी र लाइसेन्सका लागि एकीकृत आवेदन प्रणाली ४५ दिनभित्र सञ्चालनमा ल्याइनेछ। केही सेवा भने पहिले नै कार्यान्वयनमा आइसकेका छन्।

दूरसञ्चार क्षेत्रमा सुधारका लागि मोबाइल डेटा ९० प्रतिशत प्रयोग भएपछि ग्राहकलाई सूचना पठाउने व्यवस्था र ‘पे–एज–यू–गो’ सेवा निष्क्रिय गर्ने विकल्प दिने नीति अघि सारिएको छ। नेपाल टेलिकममा ‘वान टाइम केवाईसी’ प्रणाली लागू गर्दै सिम वितरण, स्वामित्व हस्तान्तरण र हराएको सिम पुनःप्राप्ति सेवा ३० दिनभित्र पूर्ण रूपमा अनलाइन बनाइनेछ।

मन्त्रालयले २५० भन्दा बढी सरकारी वेबसाइट तथा मोबाइल एपलाई अपाङ्गतामैत्री बनाउने र ४जी सेवाको गुणस्तर सुधारका लागि नीतिगत सुधार गरी थप फ्रिक्वेन्सी उपलब्ध गराउने योजना पनि अघि सारेको छ।

साथै, सूचना प्रविधि, साइबर सुरक्षा, डाटा संरक्षण र कृत्रिम बौद्धिकतासम्बन्धी विधेयकहरू ९० दिनभित्र तयार गर्ने लक्ष्यसमेत कार्ययोजनामा समेटिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्