काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले नियामक नेपाल राष्ट्र बैंक को निर्देशनको अवज्ञा गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कडेलको तलब वृद्धि गरेको पाइएको छ।
राष्ट्र बैंकले २०७९ फागुन ३ मा जारी निर्देशनमार्फत अर्को व्यवस्था नभएसम्मका लागि बैंक तथा वित्तीय संस्थाका सीईओको तलब, भत्ता तथा सुविधा नबढाउन निर्देशन दिएको थियो। सो निर्देशन हालसम्म यथावत रहेको छ।
तर, उक्त निर्देशनलाई बेवास्ता गर्दै सिद्धार्थ बैंकले सीईओ कडेलको आधारभूत तलब एक वर्षको अवधिमा ३ लाख ५९ हजार ८ सय ८५ रुपैयाँले बढाएको देखिएको छ।
राष्ट्र बैंकले सीईओको तलब–सुविधा सम्बन्धी मार्गदर्शन संशोधनका लागि अध्ययन भइरहेको उल्लेख गर्दै हाललाई तलब तथा सुविधा वृद्धि नगर्न निर्देशन दिएको थियो। सो निर्देशन नियमन विभागका तत्कालीन कार्यकारी निर्देशक डा. गुणाकर भट्ट को हस्ताक्षरमा जारी गरिएको पत्रमार्फत बैंक तथा वित्तीय संस्थालाई पठाइएको थियो।
नियामक निर्देशनको उल्लंघन भएको विषय सार्वजनिक भएपछि बैंकिङ क्षेत्रमै यसलाई लिएर बहस सुरु भएको छ भने सम्बन्धित निकायको ध्यानाकर्षण समेत भएको बताइएको छ।
