नेभिगेशन
अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपतिको धम्कीपछि इरानमा मानव साङ्लो: ऊर्जा केन्द्र र पुल जोगाउन नागरिक सडकमा, अन्तिममा दुई हप्ते युद्धविराम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानलाई होर्मुज जलसन्धि खोल्न चेतावनी दिँदै नागरिक पूर्वाधारमा आक्रमणको धम्की दिएपछि इरानभरका ऊर्जा केन्द्र र पुलहरू जोगाउन नागरिकहरूले मानव साङ्लो बनाएर रातभर जाग्राम बसेका छन्।

राजधानी तेहरान लगायत ताब्रिज, डेजफुल र अन्य सहरहरूमा हजारौँ नागरिक ऊर्जा केन्द्र र ऐतिहासिक पुल वरिपरि भेला भई राष्ट्रिय झण्डा फहराउँदै प्रतिरोध जनाएका थिए। केही स्थानमा १,७०० वर्ष पुरानो पुलमा समेत मानिसहरू भेला भएका थिए।

इरानी राष्ट्रपति मसुद पेजेस्कियन ले करिब १ करोड ४० लाख नागरिकले देश रक्षाका लागि स्वयंसेवकका रूपमा नाम दर्ता गराएको बताएका छन्।

अमेरिकाले ‘आज राति सभ्यताको अन्त्य हुन सक्छ’ भन्दै चेतावनी दिएपछि इरानमा त्रासको अवस्था सिर्जना भएको थियो। नागरिकहरूले सम्भावित आक्रमणको डरले खाद्यान्न, पानी र आवश्यक सामग्री संकलन गरेका थिए।

यद्यपि, समयसीमा सकिनुअघि नै डोनाल्ड ट्रम्प ले दुई हप्ताको युद्धविराम घोषणा गरेका छन्। पाकिस्तानको मध्यस्थतामा दुवै देशबीच कूटनीतिक वार्ता अघि बढ्ने सहमति भएको जनाइएको छ।

इरानले सुरक्षित जलमार्ग, प्रतिबन्ध फुकुवा र पुनर्निर्माणसहित १० बुँदे शान्ति प्रस्ताव अघि सारेको छ, जसलाई अमेरिकाले वार्ताका लागि आधार मान्न सकिने जनाएको छ।

युद्धविरामपछि केही राहत देखिए पनि इरानभित्र राजनीतिक तनाव थप चर्किने संकेत देखिएको छ। विश्लेषकहरूका अनुसार हालको घटनाक्रमले सत्ताभित्रका कडा धारका पक्षलाई बलियो बनाएको छ भने विपक्षीहरू थप दबाबमा पर्न सक्ने अवस्था देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्