नेभिगेशन
समाचार

इजरायलस्थित नेपालीलाई दूतावासको आपतकालीन अपिल: मोबाइल नम्बरसहित सतर्कता अपनाउन आग्रह

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई संयमित, सतर्क र सुरक्षित रहन आग्रह गर्दै आपतकालीन सम्पर्कका लागि मोबाइल नम्बर सार्वजनिक गरेको छ।

‘अत्यन्त जरुरी’ सूचना जारी गर्दै दूतावासले इजरायलका विभिन्न क्षेत्रमा रहेका नेपालीहरूलाई सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो।

दूतावासले आपतकालीन अवस्थामा सम्पर्क गर्न द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्ज कुमार शाहको मोबाइल नम्बर सार्वजनिक गरेको छ। दूतावासका अनुसार आवश्यक परे यी अधिकारीहरूसँग सीधै सम्पर्क गर्न सकिनेछ।

दूतावासले इजरायल सरकार र उसका आधिकारिक निकायबाट जारी हुने सूचना तथा निर्देशन अनिवार्य रूपमा पालना गर्न पनि आग्रह गरेको छ। विशेषगरी ‘होम फ्रन्ट कमाण्ड’ लगायत सुरक्षा निकायका सन्देशहरूलाई गम्भीरतापूर्वक लिन भनिएको छ।

साथै, अलर्ट सन्देश प्राप्त हुँदा वा साइरन बज्दा ढिलाइ नगरी नजिकको सुरक्षित बंकर (बम आश्रयस्थल) मा जान निर्देशन दिइएको छ।

नेपालीहरूलाई राहदानी, परिचयपत्र, सवारी चालक अनुमति पत्र र बैंक कार्डजस्ता महत्वपूर्ण कागजात सधैं साथमा राख्न तथा विकसित घटनाक्रमबारे नियमित जानकारी लिन पनि आग्रह गरिएको छ।

दूतावासले सामाजिक सञ्जालमा युद्धसम्बन्धी सामग्री अनावश्यक रूपमा सेयर नगर्न, परिवार र आफन्तसँग नियमित सम्पर्कमा रहन र अफवाहबाट टाढा रहन पनि सुझाएको छ।

हालको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै दूतावासले सबै नेपालीलाई उच्च सतर्कता अपनाउन पुनः आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्