काठमाडौँ । अबदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार पनि सेयर कारोबार खुल्ने भएको छ। नेप्सेले आफ्नो सञ्चालक समितिको निर्णयअनुसार चैत २३ गतेदेखि लागू हुने गरी कारोबार तालिकामा परिवर्तन गरेको हो।
सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि सोही अनुरूप बजारको कारोबार समय समायोजन गरिएको नेप्सेले जनाएको छ। नेपालमा एक मात्र सेयर बजार सञ्चालनमा रहेको नेप्से सरकारी लगानीमा सञ्चालित संस्था हो।
यसअघि आइतबारदेखि बिहीबारसम्म पाँच दिन मात्र नियमित कारोबार हुँदै आएको थियो। यद्यपि सार्वजनिक बिदा व्यवस्थाअनुसार विगतमा पनि यस्तो अवस्थामा शुक्रबार कारोबार खुल्ने अभ्यास रहेको थियो।
कारोबार समय परिवर्तनसँगै लगानीकर्ताहरूलाई थप सहजता हुने अपेक्षा गरिएको छ। साथै, मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि सुरु गर्ने निर्णय गरेसँगै नेप्सेको कार्यालय समय पनि समायोजन गरिएको छ। अब नेप्से बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने बताइएको छ।
