काठमाडौं। सरकारले सार्वजनिक यातायात तथा ढुवानी सेवाको भाडादरमा भारी वृद्धि गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कार्यान्वयनको तयारी अघि बढाएको हो।
नयाँ व्यवस्थाअनुसार सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि हुने भएको छ। त्यसैगरी ढुवानी सेवातर्फ पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने सवारीको भाडा १५.७५ प्रतिशतले बढाइने भएको छ।
यातायात व्यवसायीहरूले लामो समयदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अन्य प्राविधिक कारण देखाउँदै भाडा समायोजनको माग गर्दै आएका थिए। सरकारले सोही आधारमा भाडा वृद्धि गर्ने निर्णय गरेको हो।
यातायात व्यवस्था विभागका अनुसार नयाँ भाडादर छिट्टै सार्वजनिक गरिनेछ। विभागले आफ्नो आधिकारिक वेबसाइटमार्फत विस्तृत विवरण प्रकाशित गर्ने तयारी गरेको जनाएको छ।
भाडा वृद्धि कार्यान्वयनमा आएपछि यात्रु र उपभोग्य वस्तुको ढुवानी लागत बढ्ने र त्यसको असर बजार मूल्यमा समेत पर्न सक्ने अनुमान गरिएको छ।







