नेभिगेशन
समाचार

मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे प्रशिक्षण, परराष्ट्रले दियो औपचारिक ब्रिफिङ

काठमाडौं। परराष्ट्र मन्त्रालयले नयाँ सरकारका मन्त्रीहरूलाई कूटनीतिक मर्यादा र आचारसंहितासम्बन्धी प्रशिक्षण प्रदान गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा सबै मन्त्रीहरूलाई सहभागी गराउँदै ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ विषयमा औपचारिक ब्रिफिङ गरिएको हो।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) की प्रेस विज्ञ दीपा दाहालका अनुसार प्रशिक्षण सत्रमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुति दिएका थिए। उनले मन्त्रीहरूलाई अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्द्धन तथा समग्र परराष्ट्र नीतिबारे जानकारी गराएका थिए।

प्रस्तुतिका क्रममा सचिव राईले परराष्ट्र नीति कार्यान्वयन गर्दा अपनाउनुपर्ने विधि, सीमा र कूटनीतिक मर्यादाबारे विस्तृत रूपमा स्पष्ट पारेका थिए। साथै, नेपालको परराष्ट्र नीतिका प्राथमिकता, अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन कायम गर्ने रणनीति तथा कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षमा विशेष जोड दिइएको थियो।

सरकारले मन्त्रीहरूलाई कूटनीतिक अभ्यासमा एकरूपता ल्याउने र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी उपस्थितिका लागि यस्तो प्रशिक्षण आयोजना गरेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्