नेभिगेशन
अन्तराष्ट्रिय

ट्रम्पको एकलौटी सैन्य निर्णयमाथि प्रश्न

वासिङ्टन  । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको एकलौटी सैन्य निर्णयमाथि कंग्रेसभित्र प्रश्न उठ्न थालेको छ। इरानसँगको तनाव र सीमित युद्धविरामको घोषणापछि अमेरिकी राजनीतिमा युद्ध अधिकारसम्बन्धी बहस पुनः चर्किएको हो।

सिनेटका विपक्षी नेता चक सुमरले कुनै पनि देशविरुद्ध सैन्य कारबाही अघि कंग्रेसको स्वीकृति अनिवार्य बनाउन प्रस्ताव ल्याउने तयारी गरेका छन्। उनले राष्ट्रपतिले एकलौटी रूपमा युद्धसम्बन्धी निर्णय लिँदा संवैधानिक सन्तुलन कमजोर हुने बताएका छन्।

डेमोक्र्याट सांसदहरूले ट्रम्प प्रशासनको सैन्य कदमलाई ‘असन्तुलित’ र ‘जोखिमपूर्ण’ भन्दै आलोचना गरेका छन्। उनीहरूका अनुसार नागरिक पूर्वाधारमाथि आक्रमणको चेतावनीले अन्तर्राष्ट्रिय मानवीय कानुन, विशेषगरी जेनेभा महासन्धिको उल्लङ्घनको जोखिम बढाएको छ।

यद्यपि, ह्वाइट हाउसले भने राष्ट्रपतिको कदम पूर्ण रूपमा कानुनी रहेको र कमाण्डर-इन-चिफको हैसियतमा राष्ट्रिय सुरक्षाका लागि आवश्यक निर्णय लिन पाउने अधिकार सुरक्षित रहेको दाबी गरेको छ।

अमेरिकी संविधानअनुसार युद्ध घोषणा गर्ने अधिकार कंग्रेससँग भए पनि पछिल्ला वर्षहरूमा राष्ट्रपतिहरूले तत्काल सुरक्षा चुनौती देखाउँदै सीमित सैन्य अपरेशनहरू स्वतन्त्र रूपमा सञ्चालन गर्दै आएका छन्। पछिल्लो घटनाक्रमले यही अभ्यासमाथि पुनः बहस सिर्जना गरेको छ।

कंग्रेसमा रिपब्लिकनहरूको झिनो बहुमत रहेकाले प्रस्ताव पारित हुने विषय अनिश्चित रहे पनि इरानसँगको तनाव र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक प्रभावका कारण ट्रम्प प्रशासनमाथि राजनीतिक दबाब भने बढ्दै गएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्