काठमाडौं ।नेपाल रेडक्रस सोसाइटीले अध्यक्ष पदका उम्मेदवारका लागि ५१ हजार रुपैयाँ शुल्क तोकेको छ। संशोधित निर्वाचन नियमावलीअनुसार केन्द्रीय पदाधिकारीका लागि ३५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
संस्थाले संरचना परिवर्तन गर्दै केन्द्र, प्रदेश, जिल्ला, पालिका र उपशाखा गरी पाँच तहको व्यवस्था गरेको छ। केन्द्रीय समितिमा अब १९ सदस्य रहनेछन्, जसमा पाँच जना पदाधिकारी रहने व्यवस्था छ।
संस्थाका महामन्त्री मीनबहादुर मल्लका अनुसार केन्द्रीय महाधिवेशन असारको मध्यतिर गर्ने तयारी भइरहेको छ।
प्रदेशदेखि स्थानीय तहसम्मका उम्मेदवारका लागि पनि शुल्क तोकिएको छ। प्रदेश सभापतिका लागि २५ हजार, जिल्ला सभापतिका लागि १५ हजार तथा पालिका तहका विभिन्न पदका लागि ३ हजारदेखि ५ हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ।
२०७७ सालदेखि तदर्थ समितिमा सञ्चालन हुँदै आएको रेडक्रसले संगठनात्मक संरचना र निर्वाचन प्रक्रियामा परिवर्तन गर्दै अघि बढेको हो।
