काठमाडौं। नेपालमा स्याउ र केरामा विषादी अवशेष भेटिएको एक नयाँ अध्ययनले स्याउ उपभोग गर्ने बालबालिकामा विषादी जोखिम सबैभन्दा बढी रहेको देखाएको छ।
Food Control मा प्रकाशित अध्ययनअनुसार विभिन्न जिल्लाबाट संकलित स्याउका नमुनामा प्रोपार्जाइट लगायतका विषादी उच्च मात्रामा भेटिएका छन्। परीक्षण गरिएका केही नमुनामा एकै पटक धेरै प्रकारका विषादी अवशेष पाइएको र केहीमा अनुमति सीमाभन्दा बढी मात्रा रहेको पाइएको छ।
अनुसन्धानमा ५१ प्रकारका विषादी परीक्षण गर्दा स्याउका करिब २४ प्रतिशत नमुनामा प्रोपार्जाइटको मात्रा तोकिएको सुरक्षित सीमा भन्दा माथि भेटिएको उल्लेख छ। यसले विशेषगरी काँचै सेवन गरिने फलफूलमार्फत बालबालिकामा विषादीको जोखिम अझ बढ्न सक्ने संकेत गरेको छ।
अध्ययनले केरामा पनि जोखिम देखाएको छ। केरामा फेनप्रोपाथ्रिन, मेटालाक्सिल र इमिडाक्लोप्रिड जस्ता विषादी युरोपियन युनियनको सुरक्षित सीमा भन्दा बढी पाइएको उल्लेख छ।
अनुसन्धानकर्ताहरूका अनुसार बालबालिकामा शरीरको तौल कम हुने र प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूमा विषादीको असर बढी देखिने सम्भावना हुन्छ। फलफूल प्रायः नधोइ वा काँचै खाने प्रवृत्तिले पनि जोखिम बढाउने उनीहरूको भनाइ छ।
अध्ययनले किसानस्तरमै विषादी प्रयोगसम्बन्धी चुनौती देखाएको छ। करिब २५ प्रतिशत किसानले विभिन्न विषादी मिसाएर प्रयोग गर्ने, केहीले प्रतिबन्धित विषादी प्रयोग गर्ने र धेरैले सुरक्षात्मक उपाय नअपनाउने गरेको पाइएको छ।
अनुसन्धानले किसानलाई विषादी प्रयोगसम्बन्धी सचेतना अभिवृद्धि गर्न, नियमित परीक्षण प्रणाली सुदृढ गर्न तथा खाद्य सुरक्षा अनुगमन कडाइ गर्न आवश्यक रहेको सुझाव दिएको छ। यसले उपभोक्ता, विशेषगरी बालबालिकाको स्वास्थ्य जोगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
