नेभिगेशन
पर्यटन

मध्यपूर्व संकटको असर: पर्यटनमा ४७% बुकिङ रद्द, वैकल्पिक रणनीतिमा जोड

काठमाडौं। मध्यपूर्वमा उत्पन्न संकटका कारण नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर परेको छ। हालसम्म करिब ४७ प्रतिशत बुकिङ रद्द भएको पर्यटन व्यवसायीहरूले बताएका छन्। यसले सरकार र निजी क्षेत्र दुवैलाई वैकल्पिक रणनीति अपनाउन दबाब बढाएको छ।

नेपाल पर्यटन बोर्डले बिहीबार “मध्यपूर्व संकट र यसको नेपाली पर्यटनमा प्रभाव” विषयमा सरोकारवालाहरूसँग छलफल गर्दै असर न्यूनीकरणका उपायबारे विचार विमर्श गरेको छ। छलफलमा सहभागीहरूले संकटलाई चुनौती मात्र नभई अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मध्यपूर्व नेपालको प्रमुख स्रोत बजारमध्ये एक भएकाले यस संकटले हवाई सम्पर्क र पर्यटक आगमनमा असर पार्ने बताए। उनले सरकार सुरक्षित गन्तव्यका रूपमा नेपाललाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै विशेष टास्कफोर्स गठन गरिएको जानकारी दिए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हालको पर्यटक आगमनको अवस्था र समग्र प्रभावबारे प्रस्तुति दिएका थिए। बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा ‘कमल’ले वैकल्पिक हवाई मार्ग विस्तार र समयमै सूचना प्रवाह आवश्यक रहेको बताए।

परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले अन्तरमन्त्रालय समन्वयमार्फत संकटको असर न्यून गर्न तयारी भइरहेको जानकारी दिए। उनले आर्थिक कूटनीतिमा जोड दिँदै भारत र चीन लक्षित पर्यटन प्रवर्द्धन आवश्यक रहेको बताए।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले वैकल्पिक मार्ग र इन्धन सहुलियत आवश्यक रहेको उल्लेख गरे भने होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले बुकिङ रद्द बढेको बताउँदै भारत र चीन लक्षित प्याकेज बनाउनुपर्ने सुझाव दिए।

नेपाल एभिएसन तथा पर्यटन संगठन (नाटो) का अध्यक्ष विश्वेश्वर श्रेष्ठले ४७ प्रतिशत बुकिङ रद्द भएको उल्लेख गर्दै दीर्घकालीन असर पर्ने चेतावनी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले पार्किङ र ल्यान्डिङ क्षमताको सीमितता चुनौतीका रूपमा रहेको बताए।

विभिन्न एयरलाइन्स प्रतिनिधिहरूले संकटबाट बच्न सक्रिय रणनीति आवश्यक रहेको र नयाँ गन्तव्य तथा लचिलो बुकिङ प्रणाली अपनाउनुपर्ने सुझाव दिएका छन्।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले वैकल्पिक हवाई रुट, सहुलियत नीति, छिमेकी मुलुक लक्षित प्रवर्द्धन तथा समन्वित पहलमार्फत पर्यटन क्षेत्रलाई सुदृढ बनाउनुपर्ने निष्कर्ष निकालेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्