काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपासँगको सहमतिमै उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गरिएको बताएका छन्।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि सरस्वती लामालाई उम्मेदवार बनाइएको स्पष्ट पारे। “हामीले सबैसँग कुरा गरेर उम्मेदवारी दर्ता गराएका हौँ,” उनले भने, “स्वयं रवि लामिछानेले फोन गर्नुभएको हो।”
शाहीका अनुसार राजनीतिक दलबीच सहमति र समन्वयका आधारमा उम्मेदवारी अघि बढाइएको हो। उनले अन्य दलहरूका सम्भावित रणनीतिबारे प्रतिक्रिया दिँदै राजनीति स्वाभाविक रूपमा चल्ने प्रक्रिया भएको बताए।
यसअघि राप्रपाले उपसभामुख पदका लागि सांसद सरस्वती लामालाई उम्मेदवार बनाएको छ। रास्वपा सभामुख रहेको अवस्थामा संविधानअनुसार फरक दल र लिंगबाट उपसभामुख चयन हुनुपर्ने व्यवस्था छ, जसअनुसार राजनीतिक छलफल तीव्र बनेको छ।
रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने चर्चा भइरहेका बेला शाहीले त्यसप्रति टिप्पणी गर्दै “उहाँहरूले जे राजनीति गर्नुहुन्छ, गर्नुहोस्, हामीले सत्य बोल्नुपर्छ,” भने।
उपसभामुख चयनका लागि राजनीतिक दलहरूबीच सहमति जुटाउने प्रयास जारी रहेको छ।







