नेभिगेशन
मनाेरञ्जन

झरना–सुहाना पहिलोपटक एउटै पर्दामा, ‘बाः एक योद्धा’ को छायांकन जारी

काठमाडौं। नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै चलचित्रमा एकसाथ देखिने भएका छन्। दुवै आमा–छोरीको मुख्य भूमिका रहने चलचित्र ‘बाः एक योद्धा’ को छायांकन यतिबेला काठमाडौंका विभिन्न स्थानमा तीव्र गतिमा भइरहेको छ।

संगीतकारका रूपमा परिचित हरि लम्साल यसै चलचित्रमार्फत निर्देशकको रूपमा डेब्यु गर्दैछन्। उनले निर्देशनसँगै चलचित्रको कथा र पटकथा पनि आफैँले तयार पारेका छन्। चलचित्रको छायांकन चैत ९ गते पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजासहित सुरु गरिएको थियो।

‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको यो चलचित्रले नेपाली समाजको मार्मिक र यथार्थपरक कथा प्रस्तुत गर्नेछ। चलचित्रको शीर्षकले संकेत गरेझैँ, यसले बुवाको त्याग, संघर्ष र सन्तानप्रतिको समर्पणलाई ‘योद्धा’का रूपमा चित्रण गर्ने लक्ष्य राखेको छ।

निर्माण पक्षका अनुसार, ग्रामीणदेखि शहरी परिवेशसम्मका बाबु–छोराछोरीबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरिनेछ। यो चलचित्रलाई सामाजिक र भावनात्मक मनोरञ्जनात्मक सिनेमा बनाउने प्रयास गरिएको छ।

निर्माता वसन्त लम्साल रहेको यस चलचित्रमा सिनेमाटोग्राफी शिवराम श्रेष्ठले सम्हालिरहेका छन् भने मुख्य सहायक निर्देशक तारा नाथ न्यौपाने रहेका छन्। छायांकन सम्पन्न भएपछि प्राविधिक काम पूरा गरी प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्