काठमाडौं। निजी विद्यालयहरूले लिने शुल्कसम्बन्धी गुनासो सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘हेल्प डेस्क’ स्थापना गरेको छ।
मन्त्रालयका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरलाई सम्पर्क व्यक्ति तोकिएको छ। विद्यार्थी वा अभिभावकले शुल्कसम्बन्धी कुनै पनि गुनासो वा सिकायत भएमा राठौरलाई ९८५१२१४६३८ मा फोन गरेर जानकारी दिन सक्ने व्यवस्था गरिएको छ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार शुल्कसम्बन्धी गुनासोको रिपोर्टिङ तथा सहजीकरणका लागि यो व्यवस्था गरिएको हो। निजी विद्यालयहरूले मापदण्ड विपरीत बढी शुल्क लिने गुनासो बढेपछि यस्तो कदम चालिएको मन्त्रालयले जनाएको छ।
यसअघि सर्वोच्च अदालतले नयाँ शैक्षिक सत्र सुरु हुनु अघि विद्यार्थी भर्ना नगर्न आदेश दिएको थियो। तर केही निजी विद्यालयहरूले निर्देशन अटेरी गर्दै शुल्क असुली गरेको गुनासो आएपछि मन्त्रालयले निगरानी तथा नियन्त्रणका लागि हेल्प डेस्क सञ्चालनमा ल्याएको हो।
शैक्षिक सत्र सुरु हुने समयमा निजी विद्यालयको शुल्क र भर्नासम्बन्धी विषय बारम्बार विवादित बन्दै आएको छ। मन्त्रालयले अभिभावकलाई गुनासो भएमा सिधै सम्पर्क गर्न आग्रह गरेको छ।
