नेभिगेशन
शिक्षा

नेपाल–नर्वेबीच उच्च शिक्षा सहकार्य थप सुदृढ हुने, राजदूत म्योसको प्रतिबद्धता

सुर्खेत। नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योस ले उच्च शिक्षा विकासमा नेपाल–नर्वेबीचको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने बताएकी छन्।

मध्यपश्चिम विश्वविद्यालय द्वारा वीरेन्द्रनगरमा आयोजित ‘खुला संसद् र नागरिक सहभागितासम्बन्धी अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले समावेशी शिक्षा प्रवर्द्धनमा दुई देशबीचको साझेदारी अझ सुदृढ हुने उल्लेख गरिन्। “स्नातक र स्नातकोत्तर तहका कार्यक्रमहरूमा सहकार्यलाई निरन्तरता दिइनेछ,” उनले भनिन्।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम का नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुका सहभागी टोलीले विश्वविद्यालयसँग पहिलोपटक अन्तरसंवाद गर्न पाउँदा खुसी व्यक्त गरेको थियो।

विश्वविद्यालयका उपकुलपति ध्रुवकुमार गौतम ले नोरहेड–दोस्रो अन्तर्गत सञ्चालनमा रहेको ‘बिल्डिङ इन्क्लुसिभ एजुकेसन इन नेपाल (बीआइईपिएन)’ परियोजनाले समावेशी शिक्षा र अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए। उनका अनुसार परियोजनाले गुणस्तरीय अनुसन्धान, नीतिगत पैरवी र दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय प्रगति गरेको छ।

Oslo Metropolitan University को नेतृत्वमा सञ्चालन भइरहेको उक्त परियोजनामा इनल्यान्ड नर्वे युनिभर्सिटी अफ एप्लाइड साइन्सेज, त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको साझेदारी रहेको छ।

कार्यक्रममा विश्वविद्यालयले सन् २०२६ मा अन्तरराष्ट्रिय समावेशी शिक्षा सम्मेलन आयोजना गर्ने तयारीसहित थप शैक्षिक आदानप्रदान र संयुक्त परियोजनामा सहकार्य विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ।

नेपाल–नर्वेबीच सन् १९७३ देखि औपचारिक कूटनीतिक सम्बन्ध कायम रहँदै शिक्षा, मानवअधिकार, ऊर्जा र वातावरण क्षेत्रमा सहकार्य हुँदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्