रामपुर । पाल्पाको रामपुर नगरपालिकामा युवा नेतृत्वको सक्रियतासँगै सामुदायिक विद्यालयहरू अभिभावक र विद्यार्थीको रोजाइमा पर्न थालेका छन्। पछिल्ला वर्षमा शैक्षिक गुणस्तर, अनुशासन र भौतिक सुधारमा उल्लेख्य प्रगति देखिएपछि निजी विद्यालयबाट समेत विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित हुन थालेका हुन्।
रामपुर आधारभूत विद्यालय यसको उदाहरण बनेको छ। तीन वर्षअघि ८७ विद्यार्थी मात्र रहेको विद्यालयमा हाल २०२ विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापक विजय शर्माको नेतृत्वमा विद्यालयमा अनुशासन, नियमितता, आधुनिक शिक्षण पद्धति र पूर्वाधार सुधार भएपछि विद्यार्थी सङ्ख्या दोब्बरभन्दा बढी बढेको हो।
विद्यालयमा समयपालना, मासिक मूल्याङ्कन, ‘बुक कर्नर’, अभिभावकसँग नियमित अन्तरक्रिया, योग–ध्यान अभ्यास तथा ‘संस्कारसहितको शिक्षा’ जस्ता कार्यक्रम लागू गरिएपछि शैक्षिक वातावरणमा सुधार आएको छ। यसका कारण निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने प्रवृत्ति बढेको अभिभावकहरूले बताएका छन्।
यस्तै, रामपुर–१ स्थित बेलघारी प्राथमिक विद्यालयमा पनि युवा नेतृत्वपछि सुधार देखिएको छ। प्रधानाध्यापक छापबहादुर थापाका अनुसार अहिले विद्यार्थी नियमित विद्यालय आउने र अभिभावकको चासो बढेको छ।
नगर शिक्षा अधिकृत विकल काफ्लेका अनुसार युवा नेतृत्वले शैक्षिक क्षेत्रको वातावरण नै परिवर्तन गरेको छ। “पहिले गाभिन लागेका विद्यालय अहिले नमूना बन्न थालेका छन्,” उनले भने।
सामुदायिक विद्यालयमा सुधारसँगै विद्यार्थी आकर्षण बढ्नुले सार्वजनिक शिक्षाप्रति विश्वास पुनः स्थापित हुन थालेको देखिएको छ।
