नेभिगेशन
स्वास्थ्य

भालु खोमपमा निःशुल्क स्वास्थ्य शिविर, १५० भन्दा बढीले पाए सेवा

रामेछाप । रामेछाप नगरपालिका–६ भालु खोमपमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा १५० भन्दा बढी स्थानीयले सेवा लिएका छन्।

वाग्मती प्रदेश सरकारअन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप र रामेछाप नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो। चिकित्सालय प्रमुख दीपक कार्कीका अनुसार शिविरबाट स्थानीयलाई गाउँमै सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।

डा. उत्तम गैरेको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मी टोलीले सेवा दिएको शिविरमा घुँडा दुख्ने समस्या भएका बिरामीको संख्या बढी रहेको जनाइएको छ। साथै ग्यास्ट्रिक, छालासम्बन्धी तथा महिलाजन्य रोगका बिरामीले पनि सेवा लिएका थिए।

त्यसैगरी, शिविरमा महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर परीक्षण तथा भिडियो एक्स–रे सेवा समेत प्रदान गरिएको थियो। नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख विष्णुबहादुर कार्कीका अनुसार ५० जना महिलाले पाठेघरको मुखको परीक्षण गराएका थिए भने ४४ जनाले भिडियो एक्स–रे सेवा लिएका छन्।

गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराइएकोमा स्थानीयले खुसी व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्