धनगढी। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मा आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्ययन–अध्यापन सुरु गर्ने तयारी तीव्र पारिएको छ। विश्वविद्यालय सभाको बैठकले आवश्यक सबै पूर्वाधार र जनशक्ति व्यवस्थापन पूरा गर्ने निर्णय गरेको हो।
विश्वविद्यालयका सहकुलपति तथा शिक्षा मन्त्री सस्मित पोखरेल को अध्यक्षतामा बसेको बैठकले जेठ महिनादेखि नै आवश्यक फ्याकल्टी नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। ७७ पदका लागि माग गरिएकामा ३०० भन्दा बढी आवेदन परेको जनाइएको छ।
उपकुलपति सुनिलकुमार जोशी का अनुसार आगामी सत्रदेखि एमबीबीएसमा ५०, बीएस्सी नर्सिङमा २०, बीएमएलटीमा २० र बी अप्टोमेट्रीमा २० सिट गरी कुल १२० सिटमा अध्ययन सुरु गरिनेछ।
सभाले ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनको तयारी पनि अघि बढाउने निर्णय गरेको छ। हाल गेटामा ५० शय्याको अस्पताल सञ्चालनमा रहेको छ भने सेती, टीकापुर र महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा उपयोग गर्ने योजना रहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७५ प्रतिशत छात्रवृत्तिका लागि आवश्यक स्रोत सुनिश्चित गरिसकेको छ। चालु आर्थिक वर्षका लागि चिकित्सकको तलबबापत पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने आगामी वर्षका लागि दुई अर्ब ५३ करोड रुपैयाँ प्रस्ताव गरिएको छ।
सुदूरपश्चिमको प्राथमिक परियोजनाका रूपमा रहेको यस विश्वविद्यालय सञ्चालनमा ल्याउन सरकारी तथा राजनीतिक तहबाट सक्रिय पहल भइरहेको जनाइएको छ।







