नेभिगेशन
कृषि

असामयिक वर्षाले कञ्चनपुरमा गहुँबालीमा क्षति, उत्पादन घट्ने चिन्ता

कञ्चनपुर। चैत अन्त्यतिर परेको असामयिक वर्षाले कञ्चनपुरमा पाक्न लागेको गहुँबालीमा क्षति पुर्‍याएको छ। काट्ने र भित्र्याउने तयारीमा रहेको गहुँ भिज्दा उत्पादन र गुणस्तर दुवैमा असर परेको भन्दै किसानहरू चिन्तित बनेका छन्।

कृष्णपुर नगरपालिका–राजघाटका किसानका अनुसार काटिसकेको गहुँ थ्रेसिङ गर्न नपाउँदै वर्षा परेपछि बाली भिजेको छ। मौसमको पूर्वानुमान अभावका कारण समयमा गहुँ सुरक्षित गर्न नसकिएको उनीहरूको गुनासो छ। वर्षा जारी रहे खेतमै गहुँ उम्रिने जोखिमसमेत बढेको किसानहरूले बताएका छन्।

यस्तै, शुक्लाफाँटा नगरपालिका क्षेत्रमा पनि वर्षाको सम्भावनाका कारण धेरै किसानले गहुँ काट्ने काम रोक्नुपरेको छ। हतारमा भित्र्याइएको गहुँमा समेत पानी लाग्दा भुसा बिग्रिएको जनाइएको छ।

चैत महिना गहुँ भित्र्याउने मुख्य समय भए पनि यस अवधिमा परेको वर्षाले उत्पादनसँगै आम्दानीमा पनि असर पर्ने देखिएको छ। भिजेको गहुँमा ढुसी लाग्ने, गुणस्तर घट्ने र अङ्कुर उम्रिने सम्भावना बढ्ने भएकाले बजार मूल्यमा समेत गिरावट आउन सक्ने कृषिविज्ञहरूको भनाइ छ।

कृषि प्राविधिकहरूले किसानलाई मौसम पूर्वानुमानको जानकारी लिँदै सकेसम्म छिटो बाली भित्र्याउन सुझाव दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्