काठमाडौं । पछिल्लो समय नेपाली फिल्मको कमजोर व्यापारबीच नयाँ फिल्म राम नाम सत्य प्रति उद्योगको ध्यान केन्द्रित भएको छ। चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मले देशभर उच्च संख्यामा शो पाउँदै सकारात्मक सुरुवातको संकेत दिएको छ।
गत माघ १६ मा प्रदर्शन भएको आ बाट आमा पछि नेपाली फिल्महरूले घरेलु बक्स अफिसमा अपेक्षाकृत व्यापार गर्न नसकेको अवस्थामा ‘राम नाम सत्य’ लाई आशाको रूपमा हेरिएको हो। यसबीच भारतीय फिल्म धुरन्धुर २ ले भने नेपालमा उल्लेख्य कमाइ गरेको थियो।
उपलब्ध तथ्यांकअनुसार बिहीबारसम्म फिल्मले देशभर १४८ शो पाएको छ। QFX Cinemas ले मात्र काठमाडौंमा २७ र मोफसलमा ३७ गरी कुल ६४ शो प्रदान गरेको छ। अन्य हलमा बुकिङ खुल्न बाँकी रहेकाले शो संख्या अझ बढ्ने अनुमान गरिएको छ।
निर्देशक माइकल चन्द को निर्देशनमा बनेको यस फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मको ‘धागोले बाटेको’ गीत सामाजिक सञ्जालमा लोकप्रिय बनेको छ भने एक्सनप्रधान ट्रेलरले पनि दर्शकको ध्यान आकर्षित गरेको छ। एकल प्रदर्शन र नयाँ वर्षको अवसरलाई ध्यानमा राख्दा फिल्मको व्यापारिक सम्भावना सकारात्मक देखिएको छ।
नेपाली फिल्म बजार सुस्ताएको अवस्थामा ‘राम नाम सत्य’ को प्रदर्शनले उद्योगलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।







