नेभिगेशन
मनाेरञ्जन

अमेरिकी प्रहरीमा पनि सागर लम्सालविरुद्ध जाहेरी, अनुसन्धान अघि बढ्यो

काठमाडौं।  बलात्कार आरोपमा अनुसन्धानमा रहेका कलाकार सागर लम्साल विरुद्ध अब अमेरिकी प्रहरीमा पनि उजुरी परेको छ। पीडितले अमेरिकाको न्युयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाईपीडी) मा लिखित जाहेरी दर्ता गरेकी हुन्।

सागर लम्साल एक सातादेखि नेपाल प्रहरीको हिरासतमा छन्। उनीविरुद्ध उजुरी नपरेको अवस्थामा प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

अमेरिकामा उजुरी दर्ता भएसँगै त्यहाँको प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ। अब नेपाल र अमेरिकी प्रहरीबीच समन्वयमा सागरको अनुसन्धान, बयान तथा कानुनी प्रक्रिया अघि बढ्नेछ।

गत शुक्रबार ती युवतीले सामाजिक सञ्जालमार्फत सागरमाथि बलात्कारको आरोप लगाएकी थिइन्। सोही आधारमा नेपाल प्रहरीले उनलाई बूढानीलकण्ठबाट नियन्त्रणमा लिएको थियो। उनी हालसम्म हिरासतमा छन् र थप म्यादका लागि जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने तयारी गरिएको छ।

पीडितले करिब एक वर्षअघि अमेरिकामा भेट हुँदा अपार्टमेन्टमा लगेर बलात्कार गरिएको दाबी गरेकी छन्। घटनाबारे विस्तृत अनुसन्धान दुवै देशका सम्बन्धित निकायले अघि बढाइरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्