काठमाडौं । अभिनेता अल्लू अर्जुन को नयाँ फिल्म राका को फर्स्टलुक सार्वजनिक गरिएको छ। निर्देशक एटली ले निर्माण गरिरहेको यस फिल्मको नाम बुधबार निर्माण पक्षले घोषणा गरेको हो।
‘पुष्पा’ सिरिजको सफलतापछि अल्लू अर्जुन र एटलीको सहकार्यमा बनेको फिल्मलाई सुरुवातमा ‘एए ट्वान्टी सिक्स-ए सिक्स’ नाम दिइएको थियो। तर अब फिल्मको आधिकारिक नाम ‘राका’ राखिएको छ।
अल्लू अर्जुनको ४४औं जन्मदिनको अवसरमा सार्वजनिक गरिएको पोस्टरमा उनी फरक र आक्रामक लुक्समा देखिएका छन्। लामो नङ, रौँले ढाकिएको हात र आधा अनुहार छोपिएको अवस्थाले पात्रलाई रहस्यमय र शक्तिशाली बनाएको छ।
यस फिल्ममा अल्लू अर्जुनसँग अभिनेत्री दीपिका पादुकोण को जोडी देखिनेछ। साथै रश्मिका मन्दना, मृणाल ठाकुर, जान्हवी कपूर, राम्या कृष्णन र योगी बाबु लगायतका कलाकारको पनि अभिनय रहनेछ।
निर्माण लागत करिब ४ सय करोड भारतीय रुपैयाँ अनुमान गरिएको यस फिल्ममा भिएफएक्सका लागि ठूलो बजेट छुट्याइएको छ। निर्देशक एटलीले ‘राका’लाई आफ्नो सपना प्रोजेक्ट भएको बताएका छन् र यसले भारतीय फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउने विश्वास व्यक्त गरेका छन्।







