नेभिगेशन
सूचना प्रविधि

औषधि सेवनमा ‘सेभेन आर’ अनिवार्य, विवेकपूर्ण प्रयोगले बढ्छ प्रभावकारिता

काठमाडौं । कुनै पनि रोगको उपचारमा चिकित्सकले सिफारिस गरेको औषधि फर्मासिस्टमार्फत वितरण हुने गर्छ। तर, औषधि सेवन गर्दा सही तरिका अपनाउन नसके त्यसले अपेक्षित प्रभाव नदिनुका साथै साइड इफेक्ट समेत बढ्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्।

चितवनस्थित भरतपुर अस्पतालका डिस्पेन्सरी फार्मेसी इन्चार्ज जय पाठक (जेपी) का अनुसार औषधिको विवेकपूर्ण प्रयोग (Rational Use of Medicines) गर्न ‘सेभेन आर’ को पालना अत्यावश्यक छ। उनका अनुसार यसले औषधिको प्रभावकारिता बढाउनुका साथै एन्टिबायोटिक प्रतिरोध (एन्टिबायोटिक रेसिस्टेन्स) कम गर्न मद्दत गर्छ।

पाठकले औषधि वितरण र सेवनका क्रममा सात मुख्य पक्षमा ध्यान दिनुपर्ने बताए। ती हुन्— सही बिरामी (राइट पेसेन्ट), सही औषधि (राइट मेडिसिन), सही मात्रा (राइट डोज), सही औषधिको रुप (राइट डोजेज फर्म), सही माध्यम (राइट रुट), सही समयावधि (राइट ड्युरेशन) र सही परामर्श (राइट एजुकेशन)।

उनका अनुसार, सही बिरामीका लागि मात्र सही औषधि चयन गर्नुपर्छ भने बिरामीको उमेर, तौल र अवस्थाअनुसार मात्रा निर्धारण गर्नुपर्छ। औषधिको रुप (ट्याबलेट, सिरप, इन्जेक्सन आदि) र दिने माध्यम पनि बिरामीको अवस्थाअनुसार फरक हुनुपर्ने उनले बताए।

त्यस्तै, औषधि सेवनको समय र अन्तराल अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै पाठकले दिनमा तीन वा चार पटक भनिएका औषधि क्रमशः ८/८ घण्टा र ६/६ घण्टाको फरकमा लिनुपर्ने बताए। गलत समयमा सेवन गर्दा औषधिको प्रभाव घट्ने मात्र होइन, नकारात्मक असर पनि पर्न सक्ने उनको भनाइ छ।

औषधि प्रयोगसँगै फर्मासिस्टले बिरामीलाई औषधिको प्रयोग, सम्भावित साइड इफेक्ट, खान मिल्ने र नमिल्ने कुराबारे स्पष्ट जानकारी दिनुपर्नेमा पनि उनले जोड दिए। यससँगै औषधिको सही अभिलेखिकरण (डकुमेन्टेशन) पनि आवश्यक रहेको उनले बताए।

विज्ञका अनुसार, फर्मासिस्टसँगै बिरामी पनि सचेत हुनुपर्ने र औषधि सेवनबारे आवश्यक प्रश्न सोध्न नहिचकिचाउनुपर्ने हुन्छ। औषधिको सही प्रयोगले उपचार प्रभावकारी हुने र स्वास्थ्य जोखिम कम हुने विश्वास लिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्