काठमाडौं । च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा एट्लेटिको म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) ले महत्वपूर्ण जित दर्ता गरेका छन्। एट्लेटिकोले बार्सिलोनालाई २-० ले पराजित गर्दा पिएसजीले लिभरपुलमाथि पनि समान अन्तरको जित निकालेको हो।
स्पेनको क्याम्प नोउमा भएको खेलमा बार्सिलोना सुरुआतदेखि नै आक्रामक देखिए पनि पहिलो हाफको अन्त्यतिर पाउ कुबार्सीले रातो कार्ड पाएपछि खेल मोडिएको थियो। १० खेलाडीमा सीमित बार्सिलोनामाथि एट्लेटिकोले दबाब बढाउँदै ४५औं मिनेटमा जुलियन आल्भारेजको फ्रि किकमार्फत अग्रता लिएको थियो।
दोस्रो हाफमा पनि एट्लेटिकोले नियन्त्रण कायम राख्दै ७०औं मिनेटमा अलेक्जान्डर सोर्लोथको गोलमार्फत अग्रता दोब्बर बनायो। बार्सिलोनाले केही अवसर सिर्जना गरे पनि मार्कस रासफोर्डको एक गोल अफसाइड हुँदा टोलीले गोल गर्न सकेन। प्रशिक्षक हान्सी फ्लिकले रोबर्ट लेवान्डोस्की र पेड्रीलाई मैदानमा उतारेर आक्रमण बढाउने प्रयास गरे पनि सफलता मिलेन।
उता, फ्रान्सको पार्क दे प्रिन्समा भएको खेलमा पिएसजीले लिभरपुललाई २-० ले हरायो। खेलको ११औं मिनेटमा डेजिरे डुएले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। लिभरपुलका गोलरक्षक जियोर्जी मामार्डाश्भिलीले केही उत्कृष्ट बचाउ गरे पनि पिएसजीले दोस्रो हाफमा अग्रता बढायो।
जाओ नेभेसको पासमा ख्भिचा क्वारात्स्खेलियाले ६९औं मिनेटमा गोल गर्दै पिएसजीको जित सुनिश्चित गरे। लिभरपुलले केही अवसर पाए पनि गोल गर्न सकेन। खेलमा दिइएको पेनाल्टी निर्णय भिएआरले रद्द गरेको थियो।
यससँगै दुवै खेलको दोस्रो लेग अर्को साता बार्सिलोना र लिभरपुलको घरेलु मैदानमा हुनेछ। यसअघि क्वार्टरफाइनलमा बायर्न म्युनिखले रियल म्याड्रिडलाई २-१ तथा आर्सनलले स्पोर्टिङलाई १-० ले हराएका थिए।







