नेभिगेशन
खेलकुद

पिएसजीको २-० जित, लिभरपुल स्तब्ध

पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा लिभरपुललाई २-० ले पराजित गरेको छ। घरेलु मैदान पार्क दे प्रिन्समा भएको खेलमा पिएसजी सुरुआतदेखि नै हावी देखिएको थियो।

११औं मिनेटमा डेजिरे डुएले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। उनको बक्स बाहिरको प्रहार लिभरपुलका खेलाडी रायन ग्राभेनबेर्खमा लागेर दिशा परिवर्तन भई गोलमा परिणत भएको थियो। त्यसपछि पनि पिएसजीले लगातार दबाब सिर्जना गर्‍यो, तर लिभरपुलका गोलरक्षक जियोर्जी मामार्डाश्भिलीले उत्कृष्ट बचाउ गर्दै थप गोल रोक्न सफल भए।

पहिलो हाफमा लिभरपुलले पनि अवसर पाए पनि जेरेमी फ्रिम्पोङको प्रहार पोस्ट नजिकैबाट बाहिरियो। दोस्रो हाफमा पनि पिएसजीले खेल नियन्त्रणमा राख्दै ६९औं मिनेटमा दोस्रो गोल थप्यो। जाओ नेभेसको पासमा ख्भिचा क्वारात्स्खेलियाले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरेका थिए।

खेलको क्रममा पिएसजीले पेनाल्टी पाएको थियो, तर भिडियो सहायक रेफ्री (भिएआर) ले निर्णय उल्ट्याउँदै पेनाल्टी रद्द गरेको थियो। उस्मान डेम्बेलेले पनि केही अवसर गुमाए।

यस जितसँगै पिएसजीले दोस्रो लेगअघि बलियो अग्रता लिएको छ। दोस्रो लेग अब लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ।

यसै चरणको अर्को खेलमा एट्लेटिको म्याड्रिडले बार्सिलोनालाई २-० ले हराएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्