नेभिगेशन
खेलकुद

गुजरातको नाटकीय जित, दिल्ली १ रनले पराजित

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ। यो सिजनमा गुजरातको पहिलो जित हो भने दिल्लीले पहिलो हार व्यहोरेको हो।

गुजरातले दिएको २११ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले अन्तिम ओभरसम्म संघर्ष गरे पनि अन्तिम क्षणको नाटकीय घटनाले खेलको नतिजा उल्टियो। खेलको निर्णायक क्षणमा डेभिड मिलरले दोस्रो बलमा आवश्यक २ रनका लागि दौडिएनन्। अन्तिम बलमा प्रसिद्ध कृष्णाले फालेको बाउन्सरमा मिलर प्रहार गर्न असफल भए। त्यसपछि विकेटकिपर जोस बटलरले छिटो थ्रो गर्दै कुलदीप यादवलाई रन आउट गरे र गुजरातको जित सुनिश्चित गरे। मिलरले अन्तिम बल वाइड भएको आशामा रिभ्यु लिए पनि सफल भएन।

पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो। कप्तान शुभमन गिल, जोस बटलर र वासिङ्टन सुन्दरले अर्धशतक प्रहार गरे। गिलले ४५ बलमा ७० रन (५ छक्का, ४ चौका) बनाए भने बटलरले २७ बलमा ५२ रन (५ छक्का, ३ चौका) जोडे। त्यस्तै वासिङ्टन सुन्दरले ३२ बलमा ५५ रन (६ चौका, २ छक्का) बनाए। दिल्लीका मुकेश कुमारले २ विकेट लिए।

जवाफमा दिल्लीले ८ विकेट गुमाउँदै २०९ रन मात्र बनाउन सक्यो। ओपनर केएल राहुलले ५२ बलमा ९२ रन (११ चौका, २ छक्का) बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। पाथुम निसंका र डेभिड मिलरले समान ४१ रन जोडे। निसंकाले २४ बलमा ६ चौका र १ छक्का प्रहार गरे भने मिलर नटआउट रहे।

गुजरातका राशिद खानले ३ विकेट र प्रसिद्ध कृष्णाले २ विकेट लिए। गुजरातले खेलेका तीन खेलमध्ये पहिलो जित दर्ता गर्दा दिल्लीले लगातार दुई जितपछि पहिलो हार व्यहोरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्