काठमाडौं । ललित राजवंशीको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ४८ रनले पराजित गर्दै पिएम कपमा आफ्नो चौथो जित दर्ता गरेको छ।
२६२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४५.२ ओभरमा सबै विकेट गुमाउँदै २१३ रनमै समेटियो। कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक ४६ रन जोडे भने सुनिल धमलाले ३४, विपिन रावलले २८ रन तथा दिनेश अधिकारी र दिवान पुनले समान १६ रन बनाए। अन्य ब्याट्सम्यानले प्रभाव जमाउन सकेनन्।
पुलिसको बलिङमा ललित राजवंशीले शानदार प्रदर्शन गर्दै ९.२ ओभरमा २ मेडनसहित ३६ रन खर्चेर ५ विकेट लिए। करण केसीले ३ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ५० ओभरमा ८ विकेट गुमाउँदै २६१ रनको योगफल खडा गरेको थियो। ओपनर दिनेश खरेलले १०० बलमा ९ चौका र १ छक्कासहित ८२ रनको महत्वपूर्ण पारी खेले। अमित श्रेष्ठले ३० रन, कप्तान आरिफ शेखले २७ रन, दिलसाद अलीले २३ रन तथा करण केसीले अविजित २१ रन बनाए।
कर्णालीका प्रकाश जैसीले ३ विकेट लिए भने दिनेश अधिकारी र अनुक चुनाराले समान २ विकेट हात पारे।
यो जितसँगै नेपाल पुलिस क्लबले ७ खेलमा ४ जितसहित ९ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ र फाइनल यात्राको सम्भावना कायमै राखेको छ। उता कर्णाली प्रदेशले ८ खेलमा छैटौं हार बेहोर्दै ३ अंकसहित नवौं स्थानमा सीमित भएको छ।







