नेभिगेशन
अर्थ

मेटलाइफ फाउन्डेशनद्वारा ६.५ मिलियन अमेरिकी डलर अनुदान घोषणा, नेपालका दुई संस्था छनोट

काठमाडौं । मेटलाइफ फाउन्डेशनले सामुदायिक प्रभाव अनुदान कार्यक्रमअन्तर्गत विश्वभरका गैरनाफामुखी संस्थाहरूलाई ६.५ मिलियन अमेरिकी डलर बराबरको अनुदान प्रदान गर्ने घोषणा गरेको छ। यस कार्यक्रमअन्तर्गत नेपालका दुई संस्था समेत छनोटमा परेका छन्।

फाउन्डेशनका अनुसार यस वर्ष १०० भन्दा बढी संस्थाहरूलाई अनुदान प्रदान गरिएको छ। नेपालबाट सोलुखुम्बुमा सञ्चालनमा रहेको ‘अवेक परियोजना’ र ‘सोसेक नेपाल’ यस सूचीमा परेका छन्।

सोलुखुम्बुको अवेक परियोजनाले दुई वर्षका लागि १ लाख १० हजार अमेरिकी डलर अनुदान प्राप्त गरेको छ। उक्त परियोजनामार्फत ३ हजारभन्दा बढी स्थानीयलाई फोहोर व्यवस्थापन, वृक्षारोपण तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी तालिम प्रदान गरिने जनाइएको छ।

त्यस्तै, सोसेक नेपालको ‘सुरक्षित खाद्य तथा आर्थिक सशक्तीकरण कार्यक्रम’ले दुई वर्षका लागि १ लाख ९० हजार अमेरिकी डलर सहयोग पाएको छ। कार्यक्रमले किसान, युवा तथा साना व्यवसायीलाई लक्षित गर्दै सुधारिएको कृषि अभ्यास, सीप विकास, आर्थिक सुदृढीकरण तथा स्वास्थ्य सेवाको पहुँच विस्तारमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

फाउन्डेशनकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत Tia Hodges ले सामुदायिक स्तरमा समग्र कल्याण सुधार गर्न यस्ता कार्यक्रममार्फत लगानीलाई निरन्तरता दिइने बताइन्।

सन् २०२३ मा सुरु गरिएको उक्त कार्यक्रम सन् २०२५ देखि विश्वव्यापी रूपमा विस्तार गरिएको हो। हालसम्म २०७ संस्थाहरूलाई ९ मिलियन अमेरिकी डलरभन्दा बढी अनुदान प्रदान गरिसकिएको फाउन्डेशनले जनाएको छ। यसबाट अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप तथा मध्यपूर्वका १६ लाखभन्दा बढी मानिस लाभान्वित भएका छन्।

फाउन्डेशनले खाद्य सुरक्षा, मानसिक स्वास्थ्य, वातावरणीय दिगोपन तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा काम गर्ने संस्थाहरूलाई प्राथमिकतामा राख्दै सहयोग गर्दै आएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्