नेभिगेशन
पर्यटन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालन गर्न स्थानीयको दबाब, आर्थिक र पर्यटनमा टेवा पुग्ने अपेक्षा

काठमाडौँ । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यथाशीघ्र पूर्ण रूपमा सञ्चालनमा ल्याउन स्थानीय जनप्रतिनिधिहरूले सरकारसँग माग गरेका छन्।

भैरहवामा आयोजित सिद्धार्थनगर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख इश्तियाक अहमद खाँले अर्बौं रुपैयाँ लगानीमा निर्माण भएको विमानस्थल तत्काल सञ्चालन गर्नुपर्नेमा जोड दिए।

उनले भगवान् गौतम बुद्धको नामबाट निर्माण गरिएको विमानस्थल नियमित सञ्चालनमा आए देशको आर्थिक गतिविधि चलायमान हुने र पर्यटकको आवागमन बढ्ने विश्वास व्यक्त गरे।

लुम्बिनी क्षेत्रको विकासले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धनमा विमानस्थलको भूमिका महत्वपूर्ण हुने बताए।

त्यसैगरी नगर प्रवक्ता मुक्तिनाथ यादवले विमानस्थल सञ्चालन नहुँदा स्थानीय उद्योगी–व्यवसायीहरू प्रभावित भएको बताएका छन्। उनले सरकारलाई आवश्यक निर्णय छिटो लिन आग्रह गरे।

स्थानीय जनप्रतिनिधिहरूले लुम्बिनी क्षेत्रको समग्र विकास र पर्यटन विस्तारका लागि विमानस्थलको नियमित सञ्चालन अत्यावश्यक रहेको जोड दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्