सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ। प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीले घेरिएको यो तालमा दैनिक रूपमा पर्यटकको उल्लेख्य भीड लाग्ने गरेको छ।
तालको विशेष आकर्षणमध्ये माछा मार्ने (फिसिङ) सुविधा पनि प्रमुख रहेको छ। यही कारणले धरान, इटहरी, विराटनगर, धनकुटा, वीरगञ्ज तथा भारतका विभिन्न स्थानबाट समेत पर्यटक आउने गरेका छन्। वनभोजका लागि उपयुक्त यस क्षेत्रमा एकैपटक ठूलो संख्यामा समूह व्यवस्थापन गर्न सकिने संरचना विकास गरिएको छ।
सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत पर्ने करिब ६१ हेक्टर क्षेत्रमध्ये आठ हेक्टरमा फैलिएको ताललाई २०७१ सालदेखि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको हो। कोशी प्रदेश सरकारको सहयोगमा भ्यूटावर, सालिक निर्माण तथा तारबारलगायत पूर्वाधार विस्तार गरिएको छ।
तालमा माछा मार्न प्रतिव्यक्ति शुल्क तिरेपछि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म अनुमति दिइन्छ। यहाँ कमलकार, ग्रास, रहु, नौनीलगायत विभिन्न प्रजातिका माछा पाइन्छ। साथै बोटिङ, चिडियाखाना अवलोकन तथा टापु र काठका पुलमार्फत घुम्ने सुविधा पनि उपलब्ध छ।
पर्यटक आगमनसँगै आसपासका खाजा, नास्ता तथा साना व्यवसायहरू चलायमान बनेका छन्। पिकनिक र बोटिङबाट वार्षिक रूपमा आम्दानी हुने रकम ताल संरक्षण र पूर्वाधार विकासमा प्रयोग भइरहेको छ।
स्थानीयले अझै पूर्वाधार निर्माण र सरकारी लगानी आवश्यक रहेको बताए पनि रास ताललाई पर्यावरणीय संरक्षणसँगै स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।







