पाँचथर। प्रधानमन्त्रीमाथि लक्षित गरी गालीगलौज तथा अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा पाँचथरबाट एक जना युट्युबर पक्राउ परेका छन्। पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–७ निवासी रोशन पोखरेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार नेपाल प्रहरीको विद्युतीय अपराध अनुसन्धान शाखाबाट प्राप्त सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। ‘हेडिस’ नामक युट्युब माध्यममार्फत प्रधानमन्त्री तथा अन्य नेताहरूविरुद्ध अपमानजनक अभिव्यक्ति प्रयोग गरिएको पाइएपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अनिश कर्णका अनुसार पक्राउ परेका पोखरेलमाथि विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनलाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले सामाजिक सञ्जालमार्फत भ्रामक, अपमानजनक तथा कानुनविपरीत सामग्री प्रकाशन नगर्न सर्वसाधारणलाई आग्रह गर्दै यस्ता गतिविधिमाथि कडाइ गरिने जनाएको छ।







